न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु

न्युजलय ५ फाल्गुण २०७९, शुक्रबार ०१:१८ मा प्रकाशित

 काठमाण्डौ । न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् ।

उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

प्रहरीका अनुसार दुई वर्षीया बालिका बिहीबार बाढीमा फसेको अनुमान गरिएको छ । अकल्याण्डको मुरीवाईमा बिहीबार गएको पहिरोमा परेर एक स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो ।

न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ ।

न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपत्कालीन अवस्थाको घोषणा गरेको छ । उत्तरी टापुमा व्यापक रूपमा विद्युत कटौती, उडान रद्द र विद्यालय हरू बन्द गरिएको छ ।

अकल्याण्ड र आसपासको क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको दुई सातापछि मात्र यो घटना भएको हो । दुई साताअघि देशको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको यस विपत्तिमा परी चार जनाको मृत्यु भएको थियो ।