काठमाडौं । राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष सत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ ।
शुक्रबार राष्ट्रसंघको आपतकालीन विशेष सत्रमा जोर्डनले राखेको उक्त प्रस्तावको पक्षमा नेपालसहित विश्वका १२० मुलुकले मतदान गरी बहुमतले पारित गरेको हो ।
तर, पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका हुन् । अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गर्यो । चीनले पक्षमा मतदान गरेको छ । बेलायत सहभागी भएन । भारत तटस्थ रहेको छ ।
प्रस्तावको विपक्षमा भने इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ रहे । तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य गठनमा रहेका पश्चिमा राष्ट्रहरू छन् । प्रस्तावमा बिनासर्त मानवीय युद्धविरामका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनालाई जोड दिइएको छ । प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको रिहाइ र गाजामा सबै प्रकारका अत्यावश्यक वस्तुको आपूर्तिमा जोड दिइएको छ । ‘तत्काल, भरपर्दो र दियो मानवीय युद्धविराम जसले दुश्मनीलाई समाप्त गर्न सकोस्’भन्ने प्रस्ताव गरिएको छ ।
महासभाको प्रस्ताव कानुनी रूपमा बाध्यकारी नभए पनि नैतिक हिसाबले अर्थपूर्ण मानिन्छ ।