ओडिसामा रेल दुर्घटनामा परि मृत्यु हुनेको संख्या दुई सय ८० पुग्यो

न्युजलय २० जेठ २०८०, शनिवार ०३:१४ मा प्रकाशित

काठमाडौँ । भारतमा रेल दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा शुक्रबार रेल दुर्घटना भएको हो । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । 

यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगे । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए ।  कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको बताइएको छ । 

ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने, गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार प्रदान गर्ने भारतका रेल मन्त्री बताए । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।