काठमाडौं । कोलम्बियाको जंगलमा हराएका चार बालबालिका ४० दिनपछि जीवितै फेला परेका छन् । आफूहरू चढेको विमान दुर्घटनामा परेपछि उनीहरू जीवितै जंगलमा हराएका थिए ।
दक्षिणपूर्वी कोलम्बियाका चार आदिवासी बालबालिकाले संसारको सबैभन्दा दुर्गम, घना जंगलमा चालिस दिन बिताएका हुन् ।
यी बालबालिकाहरू मे १ तारिखका दिन आफ्नी आमा र अन्य दुई वयस्क मानिसहरूका साथ एउटा सानो विमानमा यात्रा गर्दै थिए ।
उक्त विमान विमान अमेजन जंगलमा दुर्घटनाग्रस्त भयो र त्यसमा सवार उनीहरूकी आमा र अन्य वयस्कको मृत्यु भयो।
शुक्रबार लामो सर्च अपरेसनपछि सेनाले उनीहरूलाई जंगलभित्रै फेला पारेको हो ।
शनिवार उनीहरूलाई राजधानी बोगोटा ल्याइयो, अहिले उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ । २० हजार किलोमिटर फैलिएको यस क्षेत्रमा खोजी अभियानमा सरकार, जनजाति समुदाय र सेनाले मिलेर काम गरेका थिए ।