मोबाइल फोन प्रयोग गरेका कारण युक्रेनसँगको युद्धमा ८९ सैनिकले ज्यान गुमाए

न्युजलय २१ पुस २०७९, बिहिबार ०७:३४ मा प्रकाशित

एजेन्सी । मोबाइल फोन प्रयोग गरेका कारण आफ्ना सैनिकहरुले ज्यान गुमाएको रुसले जनाएको छ ।


नयाँ वर्षको पहिलो दिन ८९ जना रुसी सैनिकको ज्यान जाने गरी आक्रमण भएको थियो । आफ्ना सेनाले नियम तोडेर मोबाइल फोन चलाएका कारण मानवीय क्षति भएको मस्कोले जनाएको छ ।


युक्रेनले यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ । युक्रेनसँगको एउटै घटनामा आफ्ना ८९ सेनाले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।


रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्दा विपक्षी सेनाले अवस्थिति थाहा पाउने मौका पाएको समेत जनाएका बीबीसीले उल्लेख गरेको छ ।