काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ ।
वैशाख महिनामात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन् । स्नातक तहतर्फ बीएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ ।
असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका २०८३ अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताइएको छ । जेठ महिनामा तीनवर्षे स्नातक तहको पहिलो वर्ष र चारवर्षे स्नातक तहतर्फ पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष, विटेक तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
यस्तै असार महिनामा स्नातक तहको सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ । अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा नै परीक्षाफल प्रकाशित गर्ने गरेको छ ।