नेप्सेमा सामान्य गिरावट

न्युजलय १६ भदौ २०७९, बिहिबार ०९:२१ मा प्रकाशित

काठमाण्डौ । बिहीबार(आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०९ अंकले घटेर बन्द भएको छ । १९ सय ७३ अंकबाट कारोबार सुरू भएको बजार घटेर १९ सय ५३ अंकसम्ममा पुगेको थियो । 

यस्तै, अन्तिम समयमा ८ अंकसम्मको वृद्धि देखिएको नेप्से पुनः ओरालो लाग्दै १९७२ अंकमा आएर रोकिएको हो । आज १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको ३९ लाख ५५ हजर कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सामान्य अंकको गिरावट आएपनि ७ समूहमा भने सुधार देखिएको छ ।

आज निर्जीवन बीमा समूह ६२ अंकले र जीवन बीमा समूह ५४ अंकले बढेको छ । यस्तै, होटल र टुरिजम समूह २४ अंकले बढ्दा वित्त समूह २१ अंकले बढेको छ । यस्तै, जलविद्युत समूहमा १० अंकको र विकास बैंक समूहमा ७ अंकको सुधार आएको छ ।

बजारमा सामान्य गिरावट आएपनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटरतर्फको सेयर १० प्रतिशतले बढेको छ । प्रतिकित्ता २५ रुपैयाँले बढ्दै कम्पनीको प्रमोटर सेयर २७९ रुपैयाँमा पुगेको हो ।