राजकुमार ह्यारीले आधिकारिक रूपमा बेलायत छोडे

न्युजलय ७ बैशाख २०८१, शुक्रबार ०२:४२ मा प्रकाशित

काठमाडौं । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन्।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको छ।

गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उनकी श्रीमती मेगनले बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो।

फ्रोगमोर कटेज त्यही घर हो जुन रानी एलिजाबेथले राजकुमार ह्यारीलाई उनको विवाहमा २०१८ मा उपहार दिएकी थिइन् । 

मार्च २०२१ मा, प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टिभी च्यानललाई अन्तर्वार्ता दिए। उक्त अन्तर्वार्तामा मेगनले शाही परिवारमाथि नस्लवादको आरोप लगाएकी थिइन् । उनले शाही परिवारले आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताएकी थिइन्, किनभने उनको जन्म हुनुअघि नै उनको अनुहार कालो हुने डर थियो ।

यसपछि राजपरिवारले बयान दिनुपर्यो । राज परिवारको विज्ञप्तिमा भनिएको थियो – शाही परिवारले रंगभेदसँग सम्बन्धित मुद्दालाई गम्भीरताका साथ लिएको छ।