सेनामा भर्ती हुन आउने विदेशीलाई रुसको अफर, ‘परिवारलाई नै सुरुमै नागरिकता’

न्युजलय २३ पुस २०८०, सोमबार ०६:४४ मा प्रकाशित

काठमाडौं । रुसले आफ्नो देशको सेनामा भर्ना हुने विदेशीहरुलाई आफ्नो देशको नागरिकता दिने भएको छ । पुस १९ गते रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो आदेश दिएका हुन् । 


पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारलाई नै त्यहाँको नागरिकता दिने घोषणा गरेका हुन् । कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गर्ने जोकोही विदेशीलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने घोषणामा उल्लेख छ । यसअघि, रुसी सेनामा भर्ती भएको एक वर्ष पुगेपछि मात्र विदेशीलाई त्यहाँको नागरिकता दिने प्रक्रिया अघि बढाइन्थ्यो । 


नेपालबाट पछिल्लो समय आकर्षक तलब पाउने लोभमा लुकीछिपी रुसी सेनामा भर्ती हुन जानेहरुको संख्या बढीरहेको छ । त्यसमाथि नागरिकता नै पाउने पुटिनको अफरले नेपाललगायत अल्प विकसित देशका नागरिकहरु आकर्षित हुने अनुमान गरिएको छ ।


रुसी सेनामा भर्ती भएका मध्ये १० नेपाली युवा युक्रेनसँगको युद्धमा मारिइसकेका छन् । चार नेपालीहरु युक्रेनको नियन्त्रणमा छन् । करिब डेढ सय नेपाली परिवारले रुसी सेनामा भर्ती भएका आफ्ना छोरा तथा श्रीमान्लाई फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आवेदन दिएका छन् ।


नेपाल सरकारले भने रुस जाने युवाहरुलाई कडाइ गर्न नो अब्जेक्सन सर्टिफिकेट बिना रुस जान नपाउने नियम बनाएको छ । यस्तै सरकारले रुस र युक्रेन जानेलाई दिँदै आएको श्रम स्वीकृति समेत रोकेको छ ।