काठमाडौं । सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ । दुई वर्षअघि नै जीपीएस ट्रयाकिङ लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो । हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न लागिएको विभागले जनाएको छ ।
पाइलट प्रोजेक्ट अन्तर्गत विभागले २० वटा डिभाइस खरिद गरेको र जारी सिजनमा नै पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउन खोजेको विभागका निर्देशक मोहन जिसीले बताए ।
विभागले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर ०७७ असारमै डिभाइस ल्याएको थियो । जीपीएस लागू भएसँगै हिमाल आरोहणमा हुने गलत अभ्यास रोक्न मद्दत पुग्ने विभागको विश्वास छ । आरोहण दलमा जाने आरोहीलाई जीपीएस सिस्टमको डिभाइस उपलब्ध गराएर आरोहण पठाउने विभागको तयारी छ । जसले गर्दा आरोहण भए–नभएको, आरोहण टोलीको वस्तुस्थिति पत्ता लगाउन विभागलाई सहज हुनेछ । डिभाइसकै माध्यमबाट आरोही हराएको अवस्थामा उद्धार गर्न तथा आरोहणका नाममा हुने गलत अभ्यासलाई रोक्न सहयोग पुग्ने विभागले जनाएको छ ।
विभागका महानिर्देशक तारानाथ अधिकारीले भने बजेटको अभावका कारण अहिलेसम्म जीपीएस लागू गर्न नसकिएको बताए ।
जीपीएस सिस्टमबाट हिमाल आरोहणको यथार्थ तथ्यांक आउनेछ । डिभाइसले माइनस ४५ डिग्री सेल्सियस तापक्रममा पनि सञ्चारको दोहोरो प्रवाह गर्न सक्ने, १५ दिनसम्म ब्याट्रीले धान्नेछ । सोलारबाट पनि डिभाइस चार्ज हुनेछ ।
जीपीएस डिभाइस पहिले विभागको सर्भरमा दर्ता गराइने छ । त्यसपछि आरोहीलाई डिभाइस दिएर पठाइन्छ । साथै डिभाइसलाई स्याटलाइटसँग सम्पर्क गराएर डिभाइसको रेकर्ड विभागको सर्भर सिस्टममा इन्ट्री हुने गरी प्राविधिक तयारी गरिएको छ । यसबाट कुन आरोही छ भन्ने जानकारी प्राप्त हुन्छ । विभागबाट जुन आरोहीको नाममा दर्ता छ त्यो डिभाइस सोही आरोहीले मात्र प्रयोग गर्न पाउने छन् ।