अफगान प्रहरीद्वारा ठूलो परिमाणमा हातहतियार बरामद

न्युजलय २९ माघ २०७९, आइतबार ०६:२६ मा प्रकाशित

काठमाडौँ । अफगान प्रहरीले उत्तरी प्रान्त बाघलानबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । बाघलान प्रान्तस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन् ।

गोप्य सूचनाका आधारमा छापा मारेर सुरक्षाकर्मीले एक थान रकेट प्रोपेल्ड ग्रेनेड आरपीजी, पाँच थान एके–४७ राइफल, १३ थान पेस्तोल र भारी मात्रामा ग्रिनेड नियन्त्रणमा लिएको जनाइएको छ । हालैका दिनमा सुरक्षा बलले बगलान, छिमेकी कुन्दुज र समङ्गन प्रान्तबाट हजारौँ हातियार र गोलाबारुद बरामद गरेको छ ।

वर्षौको युद्धबाट तहसनहस भएको अफगान सरकारले देशमा शान्ति, सुरक्षा एवम् स्थायित्व कायम गर्न सुरक्षा निकायबाहेक अन्यलाई हतियार राख्न नदिने नीति लिएको छ भने त्यस्ता हातहतियार सम्बन्धित व्यक्तिबाट जफत गर्ने वाचा गरेको छ ।