काठमाण्डौ । चीनले कोभिड– १९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ। भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ।
महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो। सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ।
चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च २८, २०२० अघि जारी गरिएका, तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन्।
यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन्। सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानीजहाजबाट सांघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विनाभिसा यात्राको अनुमति दिएको छ।