काठमाडौँ । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो।
६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो।
दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।
विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमर्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ।
दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ।