इटालीमा डुङ्गा डुब्दा ४३ जना आप्रवासीको मृत्यु

न्युजलय १४ फाल्गुण २०७९, आइतबार ०७:५४ मा प्रकाशित

काठमाडौं । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्। 

“अहिलेसम्म ८० जनालाई जीवितै उद्धार गरिएको छ, जसमध्ये केही डुबेपछि किनारामा पुग्न सफल भएका छन्,” तटरक्षक बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “समुद्री तटमा ४३ जनाको शव फेला परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। 

उद्धारकर्मीहरूले एएफपीलाई बताएअनुसार डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार थिए भने समाचार तयार पार्दासम्म करिब ५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।

“बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन्। अझै धेरै समुद्रमा हराइरहेका छन्,” क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने। यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ।

इटालियन सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा बिहानै डुङ्गा डुबेको थियो।