टर्की–सिरिया भूकम्पमा ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो

न्युजलय ३० माघ २०७९, सोमबार ०६:३० मा प्रकाशित

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३५ हजार नाघेको छ।

स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ।

अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीले बताएका छन्।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्। उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन्।