नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ५० जनाको मृत्यु

न्युजलय २५ चैत २०७९, शनिवार ०७:३७ मा प्रकाशित

काठमाडौं । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् ।

उनले भने, “घटनामा ४६ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ,” बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले एएफपीलाई बताए ।

उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् ।