अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, दुई जनाको मृत्यु

न्युजलय ३० असार २०८१, आइतबार १०:४० मा प्रकाशित

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।


राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पमाथि चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा प्रहार गरिएको गोलीले ट्रम्पको दाहिने कानमा लागेको छ । गोली प्रहारसँगै अमेरिकी सेक्रेट सेवाका एजेन्टहरूले तुरुन्तै ट्रम्पलाई कभर दिएका थिए ।


कभर पाएपछि ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाएका थिए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट अस्पताल लगेका थिए । ट्रम्प सुरक्षित रहेको बताइएको छ ।


प्रतिरोधमा आक्रमणकारी मारिएका छन् भने हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।


अमेरिकी राष्ट्रपति जो बाइडन आफ्नो चुनावी यात्रा बिचमा छाडेर आज वासिङ्टन डिसी फर्कँदैछन् । उनले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाएका छन् ।


त्यस्तै बाइडनले ट्रम्पसँग कुरा गरेको ह्वाइट हाउसले जनाएको छ ।