टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

न्युजलय २६ माघ २०७९, बिहिबार १०:०५ मा प्रकाशित

 काठमाडौं । गएको सोमबारको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तीमा १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन् ।

टर्कीको प्रकोप र आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार त्यहाँ मृत्यु हुनेको संख्या १२ हजार ३९१ पुगेको छ । सिरियामा कम्तीमा दुई हजार ९९२ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

सीएनएनका अनुसार खोज र उद्धारकार्य जारी छ । उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ । हजारौँ भत्किएका भवनहरू र चिसो तापक्रममा उनीहरूले उद्धारमा कठिनाइ भोगिरहेका छन् ।

मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।