काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा प्रहरीले कुनै पनि व्यक्तिलाई पक्राउ वा नियन्त्रणमा लिँदा कुकुरको सहयोग लिन नपाउने भएको छ। यहाँको संसद्ले हालै पारित गरेको एक विधेयकमा प्रहरीले अश्वेत वा अन्य कुनै देशका नागरिकलाई नियन्त्रणमा लिने क्रममा कुकुरको सहयोग लिन नपाउने व्यवस्था गरिएको हो।
संसद्मा यो विधेयक अमेरिकी राष्ट्रपति जो बाइडनको डेमोक्रेट पार्टीका सदस्य कोरी ज्याक्सन र ऐश कालराले पेस गरेका थिए। विधेयकका अनुसार भीड नियन्त्रणको क्रममा ‘डग यूनिट’लाई गलत तरिकाले प्रयोग गर्ने गरिन्छ। यद्यपि, विधेयकमा खास अवस्थामा ‘डग यूनिट’ प्रयोगको अधिकार प्रहरीलाई दिइएको छ।
“प्रहरी प्रशासनले कुनै मानिसलाई पक्राउ गर्न कुकुरको प्रयोग गर्ने कार्यलाई अपराध भन्न सकिन्छ, खासगरी अश्वेत अमेरिकी नागरिकमाथि यस्तो प्रकारको अपराध गरेको पाइन्छ। पहिला मानिसहरूलाई दास बनाउनका लागि पनि कुकुर प्रयोग गरिन्थ्यो। यसलाई कालो इतिहास भनिन्छ” उनीहरूले भनेका छन्, “अहिले पनि यस्तो यूनिटको प्रयोग भइरहेको छ। यसलाई तत्कालै बन्द गर्नुपर्छ।”
यो विधेयकलाई क्यालिफोर्नियाका श्वेत नागरिकले पनि स्वागत गरेका छन्। जनरल सिटीजन नामको एक संगठनले विधेयकको स्वागत गर्दै भनेको छ “मानिस भनेको मानिस नै हो। रङ र जातको भिन्नता पनि उसैले सिर्जना गरेको हो। हामीले सक्दो छिटो यसलाई सुधार गर्दा राम्रो हुन्छ।”
क्यालिफोर्नियामा अपराधीलाई समात्न कुकुर प्रयोगविरुद्ध कैयौँ उजुरी परेका छन्। विशेष गरी अश्वेत आरोपीहरूलाई पक्राउ गर्न कुकुरको प्रयोग बढेको भन्दै आलोचना भइरहेको छ।
प्रहरीको तथ्यांकलाई आधारमा मान्दा कुकुर प्रयोग गरेर पक्राउ गरिएका ६७.५ प्रतिशत आरोपीहरू गम्भीर चोटका कारण अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थामा पुगेका छन्। तर, अन्य तरिकाले नियन्त्रणमा लिएकामध्ये २२ प्रतिशतलाई मात्र चोटपटक लागेका पाइएको छ।