फिलिपिन्समा यात्रुबाहक बस दुर्घटना, १७ जनाको मृत्यु

न्युजलय २० मङ्सिर २०८०, बुधबार ०१:५० मा प्रकाशित

काठमाडौं । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । सडकको मोडबाट चिप्लिएर खस्दा बस दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । 

मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए । घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको उनले बताए । 

मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन ।

बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हुनसक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन् ।