इटहरी । विवादका कारण अड्किएको इटहरी उपमहानगरपालिकाको बजेट पारित भएको छ । उपमहानगरले दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको हो ।
उपप्रमुख संगीताकुमारी चौधरीले पेश गरेको बजेट शनिबारको नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको डिपिआर बनाउने, गुरुयोजना तयार गर्ने, दुईवटा आकासे पुल निर्माण गर्ने लगायतका कुरा बजेटमा समेटिएको छ ।
गत असार ३० गतेको नगरसभाले बजेट ल्याउन सकेको थिएन । केही विषय तथा वडागत खर्चको अनुसुची नआएकोले बजेट रोकेको नेकपा एमालेसम्बद्ध नगरसभा सदस्यहरुले बताएका थिए भने नगरप्रमुख हेमकर्ण पौडेलले भने भागबण्डा नमिलेकोले बजेट रोकिएको आरोप लगाउँदै स्टाटस लेखेका थिए । जुन उनले पछि डिलिट गरेका थिए । एकातिर अनुसुची नआउनु र अर्कोतिर उपप्रमुखले भनेजति बजेट दिन प्रमुखले नमानेपछि बजेट रोकिएको नगरसभा सदस्यहरुले बताएका थिए ।
बजेट पारित भएपछि नगर प्रमुख पौडेलले लेनदेनमा कुरा नमिलेपछि बजेट रोकिएको भन्ने हल्ला मात्र भएको दावी गरेका छन् । उनले मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बद्नाम गराउन खोजेको भन्दै मिलेर प्रतिवाद गर्नसमेत नगरसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।