घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि....

न्युजलय ३ जेठ २०८३, आइतबार १२:०६ मा प्रकाशित

इटहरी । इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउमा एक नवजात शिशु फेला पारेकी छन् । 

भर्खरै जन्मिएको एक नवजात शिशु एक्लै छोडिएको अवस्थामा फेला परेको हो । ती महिलाले तत्काल प्रहरीलाई खबर गरिन्। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरेको थियो।

उद्धारपछि शिशुलाई उपचारका लागि इटहरी अस्पताल लगिएको थियो।

चिकित्सकहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि शिशुको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 

आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ।