पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

न्युजलय ४ जेठ २०८३, सोमबार ०२:०८ मा प्रकाशित

खोटाङ । सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ।

यी अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो।

खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

यस बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि अब करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीयले बताएका छन् ।