विराटनगर । कोशी प्रदेशले आकार बढाएर प्रतिस्थापन बजेट ल्याएको छ । अघिल्लो सरकारले ल्याएको आर्थिक वर्ष ८०÷८१ को लागि ३६ अरब ७४ करोड ३५ लाख रुपैया बराबरको बजेट पेश गरेको हो । जुन हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएकोभन्दा करिब ५० करोड बढी हो ।
मुख्यमन्त्री केदार कार्कीले शनिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ९ औं बैठकमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पेश गरेका थिए । जुन सर्वसम्मतीले पारित भएको थियो ।
कार्कीले बजेटमा सामान्य हेरफेर गरेको र साना योजनाहरु कटौती गरेर ठूला योजनाहरुमा बजेट बढाएको बताए ।
प्रतिस्थापन विधेयकमा पूँजीगत तर्फ २० अरब ३८ करोड १५ लाख रुपैया र चालू खर्च तर्फ १२ अरब ६८ करोड १० लाख रुपैया छुट्याएको छ भने स्थानीय तहलाई वित्तिय हस्तान्तरणका लागि ३ अरब ६६ करोड ७३ लाख रुपैया विनियोजन गरिएको छ ।