उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काको घरमा आज बिहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।
आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ । आगलागीका कारण रु ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ ।