झापा । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकडभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो ।