भुटानी जेलबाट पाँच नेपालीभाषी सहित ६ जना रिहा

न्युजलय ४ बैशाख २०७९, आइतबार ०८:१७ मा प्रकाशित

दमक । २४ वर्षदेखि चेम्गाङ जेलमा राखिएका भुटानी मानव अधिकारकर्मीसहित ६ जनालाई भुटान सरकारले रिहा गरेको छ । ड्रुक नेसनल कंग्रेसका नेता छेवाङ रिन्जिन र ५ नेपालीभाषी डेढ साताअघि रिहा भएका हुन् ।

राजनीतिक बन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीका अनुसार चेम्गाङ जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये यसपटक छेवाङसहित खर्कबहादुर मोंगर, बलराम चाम्लिङ, नइन्द्रप्रसाद खुलाल (खरेल), घनश्याम गुरुङ र रामबहादुर खुलाललाई भुटान सरकारले रिहा गरेको हो । चेम्गाङबाट रिहा भएपछि उनीहरू सबै भुटानमा रहेका आफन्तसमक्ष पुगिसकेको जनाइएको छ । 

चेम्गाङबाट केही नेपालीभाषी छुटेको सूचना आएसँगै दमकको बेलडाँगी शिविरमा रहेका उनीहरुका आफन्तहरु खुसी भएका छन् ।