इटहरी । इटहरीस्थित जनता माविले आउने भदौ मसान्तभित्र अभिभावक भेला गरी नयाँ विद्यालय व्यवस्थापन समिति बनाउने भएको छ ।
व्यवस्थापन समितिको विहीबारको पहिलो बैठकले यस्तो निर्णय गरेको समिति अध्यक्ष काशीनाथ दंगालले सार्वजनिक गरेका छन् । अविभावकको भेला बोलाएर सोही भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने माग राख्दै आएका अविभावक, जनप्रतिनिधिहरुको माग अनुसार निर्णय गरिएको जनाइएको छ । नगर शिक्षा समिति इटहरीको बैठकले दंगालको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको थियो । त्यसलगत्तै भेलामार्फत् समिति बनाउनुपर्ने भन्दै आन्दोलन चर्किएको थियो ।
भेलाकै लागि बैठकले जेठ मसान्तभित्र विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको आइइएमआइएस विवरण अध्यावधिक गर्ने निर्णय गरेको छ ।
यसैगरी विद्यालयमा रिक्त रहेका शिक्षक पदहरू पूर्तिका लागि विज्ञापन खुला गर्ने, कक्षा–११ को विद्यार्थी भर्ना अभियान जेठ १ गतेदेखि सुरु गर्ने तथा कक्षा–११ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि ९ गते छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यस्तै, जनता माध्यमिक विद्यालय बाट एसइइ दिएका विद्यार्थीहरूका लागि शैक्षिक परामर्श कार्यक्रम गर्नेसमेत बैठकले निर्णय गरेको छ ।