सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० मा प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।
बुधबार साँझ रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ का करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।