इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

न्युजलय १९ चैत २०८२, बिहिबार १२:०३ मा प्रकाशित

इन्डोनेसिया । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ ।

सुलावेसी र मालुकु टापुबिच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए ।

हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।