डीपी अर्याल सभामुखमा निर्वाचित

न्युजलय २२ चैत २०८२, आइतबार ११:५७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । 

रास्वपाका सभापति रवि लामिछानेको प्रस्ताव तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिक योजनामन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतामको समर्थनमा अर्याललाई सभामुखमा निर्वाचित गरिएयोस् भन्ने प्रस्ताव आज बसेको प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो । 

सो प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । प्रस्ताव पेस गर्दै रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरूलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने । 

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने एक मात्र सूचना आएको भनदै उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे ।