लेटाङले ल्यायो ६० करोड ८६ लाख ३७ हजारको बजेट

न्युजलय १० असार २०८१, सोमबार १०:१४ मा प्रकाशित

लेटाङ । लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष ०८१/०८२ का लागि ६० करोड ८५ लाख ३७ हजारको बजेट ल्याएको छ । 


सोमबार बसेको नगरपालिकाको पन्ध्रौं नगरसभामा नगर बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपप्रमुख कृष्णकुमारी निरौलाले ६० करोड ८६ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । 


उपप्रमुख निरौलाले प्रस्तुत गरेको बजेटमाथि नगरसभा सदस्यहरुले धारणा राखेपछि बजेट सर्वसहमतिमा हुबहु पास भएकोछ । 


नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरसभा समक्ष निर्णायार्थ पेश गरेका थिए भने सबैले सर्वसम्मतीमा बजेट पास गरेका थिए । बजेट पेश गर्नु अघि ५ जना नगरसभा सदस्यहरुले बजेट बारे बोलेका थिए । 

 

लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १५ करोड घटी बजेट ल्याएको हो । घाटा बजेट बनाउने भन्दा पनि यथार्थमा आधारित भएर कार्यान्वयन हुने प्रकारको विशेषतासहितको बजेट निर्माण गरिएकाले आकार केही घटेको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले बताए । 


संघीय सरकारबाट आउने अनुदान तथा स्थानीय आय समेत घटी भएकाले बजेटको आकार समेत घटाउनु परेको उनको भनाइ छ । लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि ७५ करोड ९ लाख ७ हजारको बजेट ल्याएकोमा पछि संशोधन गरि ५४ करोड ७२ लाख ५१ हजारमा झारेको थियो । 


बजेटमा गत वर्षको मौज्दात १ करोड, चालु आवको अनुमान नगद २ कारोड ७१ लाख १५ हजार, संघ र प्रदेशबाट राजश्व बाँडफाँडबाट १७ करोड ७२ लाख २ हजार, नेपाल सरकारबाट वित्तिय हस्तान्तरणबाट ३६ करोड ०८ लाख ७० हजार, प्रदेश सरकार वित्तिय हस्तान्तरणबाट २ करोड ९८ लाख ४९ हजार र जनसहभागिताबाट ३५ लाख आम्दानी हुने अनुमान गरिएको छ । 


वडा कार्यालयहरूका लागि ५ करोड ४० लाख, “एक वडा एक नगर गौरव“ योजना लागि १ करोड ८० लाख, अन्तरधार्मिक शान्ति पार्क निर्माणका लागि संघीय सरकार समपुरक अनुदान १ करोड प्राप्त भएकोमा थप १ करोड, मुर्चुङ्गी खोला पक्की पुल निर्माणका लागि प्रदेश समपुरक अनुदान ६० लाख प्राप्त भएको मा थप ३२ लाख ३० हजार, बुद्धमार्ग कालोपत्रे निर्माणका लागि प्रदेश समपुरक अनुदान ७० लाख प्राप्त भएकोमा थप ३७ लाख ७० हजार बजेट बिनियोजन गरिएको छ ।  


यसैगरि तारजाली खरिदका ३५ लाख, सडक बोर्डसँगको साझेदारीका लागि  २५ लाख, वडा नम्बर ८ जाँते हाटबजार स्तरोन्नतीका लागि ३० लाख र वडा नं २ बुधबारे हाटबजार स्तरोन्नती का लागि २० लाख बजेट विनियोजन गरिएको छ । 


यस्तै शिक्षा शाखाका कार्यक्रमतर्फ १ करोड ३९ लाख ५० हजार, स्वास्थ्य शाखाका कार्यक्रमतर्फ ८० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कार्यक्रमतर्फ २५ लाख, युवा तथा खेलकुद विकास शाखाका कार्यक्रमतर्फ ३० लाख, कृषि शाखाका कार्यक्रमतर्फ १ करोड,  पशु शाखाका कार्यक्रमतर्फ ४० लाख, सहकारी शाखाका कार्यक्रमतर्फ १० लाख र प्रकोप व्यवस्थापन कोषमा ७० लाख विनियोजना गरिएको छ ।