जेसीबी उद्योगको भ्रमण गर्दा बोरिस जोनसन विवादमा तानिए

न्युजलय १० बैशाख २०७९, शनिवार ०९:०६ मा प्रकाशित

काठमाडौं । ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले उनको पार्टीका एक दाताको स्वामित्वमा रहेको कम्पनीको सफलताको प्रशंसा गर्ने प्रयास गर्दा विवादमा फसेका छन् । बोरिस जोनसनले भारत भ्रमणको क्रममा अहमदावादस्थित नवनिर्मित जेसिबी फ्याक्ट्रीको भ्रमण गर्दा विवाद निम्तिएको हो । 


त्यहाँ पुगेर उनले फ्याक्ट्रीलाई ‘भारत र बेलायतको अटुट सम्बन्धको जिउँदोजाग्दो उदाहरण’ बताए । जोनसनले दुईदिन भारत भ्रमणलाई दुई देशबीचको घनिष्ठ आर्थिक तथा प्रतिरक्षा सम्बन्ध देखाउने प्रयास गरे । जेसिबी फ्याक्ट्रीमा जादाँ पनि उनी भारतको सैन्य हेलिकप्टरमा गएका थिए । उनका साथमा जेसिबीका अध्यक्ष तथा जोनसनको पार्टीका महत्वपूर्ण वित्तिय दाता एन्थोनी बामफेर्ड पनि थिए । 


तर जोनसनको जीसीबी प्लान्टको भ्रमणले भारतमा विवाद सिर्जना गर्यो । विवादका पछाडि उनको भ्रमणको टाइमिङ जिम्मेवार थियो । जोनसन त्यो समयमा जेसिबीको भ्रमणमा गएका थिए जब राजधानी दिल्लीमा हिन्दू मुस्लिम दंगापछि प्रशासनले मुस्लिम बहुल बस्ती जानेर भत्काइदिएको थियो ।


बस्ती भत्काइदाको भिडियो फुटेजमा जेसीबीका डोजर प्रष्ट देखिन्छन् । धेरै मानवतावादी समूहले जोनसनको भ्रमणलाई असंवेदनशील बताएका छन् ।  जेसिबीकै फ्याक्ट्री भ्रमणपछि एक अन्तरक्रियामा पत्रकारहरुले भारतीय समकक्षीसँग भेट हुँदा जोनसनले वस्ती भत्काएको विषय उठाउनुहुन्छ कि भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले ‘कठिन विषय उठाइने गरेको तर भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको’ भन्दै अमूर्त जवाफ दिएका थिए ।