रंगशाला निर्माणका क्रममा करिब ५ सय श्रमिकको मृत्यु भएको कतारद्वारा स्वीकार

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०८:१३ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप फुटबलका लागि रंगशाला निर्माणका क्रममा करिब ५ सय विदेशी श्रमिकले ज्यान गुमाएको आयोजक राष्ट्र कतारले स्वीकार गरेको छ ।


ज्यान गुमाउनेहरू विभिन्न देशबाट रोजगारीका लागि कतार आएको समेत कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रिका ‘बिजनेस स्ट्यान्डर्ड’मा अन्तर्वार्ता दिँदै स्वीकारेका छन् । 


विश्वकपका लागि कतारले आठवटा रंगशाला निर्माण गरेको थियो । रंगशाला तथा यससँग जोडिएका निर्माणमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका गरी पाँचवटा दक्षिण एसियाली देशका गरी ६ हजार ५ सयभन्दा धेरै श्रमिकले ज्यान गुमाएको तथ्याङ्क विभिन्न संघसंस्थाले सार्वजनिक गरेका थिए ।


रंगशाला निर्माणका क्रममा कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक रूपमै पहिलोपटक अङ्ग्रेजी पत्रिका ‘बिजनेस स्ट्यान्डर्ड’मा कतारी शीर्ष नेता हसन अल थावादीले बोलेका छन् । 


सो पत्रिकामा प्रकाशित समाचारअनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तवार्तामा करिब ५ सय विदेशी श्रमिकको रंगशाला निर्माणका क्रममा मृत्यु भएको स्वीकार गरेका छन् । 

 

उनले बाहिर हल्ला भएजस्तो त्यस्तो धेरै संख्यामा मृत्यु नभएको अन्तर्वार्तामा बताएका छन् । अन्तर्वार्ताका क्रममा उनले एक जनाले ज्यान गुमाउनु पनि धेरै दुस्खद पक्ष  भएको समेत बताएका छन् ।


यसअघि कतारले विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या धेरैमा ३७ देखि ४० जनासम्म रहेको दाबी गर्दै आएको थियो ।


विश्वकप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारले १२ वर्षअघि विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । कतारमा अहिले पनि ४ लाख नेपाली कार्यरत छन्, जसमा ४० प्रतिशत नेपाली श्रमिक रंगशालामा खटिएको कतारस्थित नेपाली दूतावासको अनुमान छ ।