भारत र चीनका सैनिकबीच झडप

न्युजलय २६ मङ्सिर २०७९, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडौँ । भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको बताएका छन् । झडपमा केही भारतीय सैनिक घाइते भएको बताइएको छ ।


भारतीय पत्रिका ट्रिब्युन इन्डियाले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । विवादास्पद सो क्षेत्रमा विगतमा पनि दुवै देशका सैनिक आमने सामने हुँदै आएका थिए । शुक्रबार राति भएको तवाङको याङत्सेमा झडप भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।


भारतीय पक्षले चिनियाँ सैनिकहरू पनि घाइते भएको दाबी गरेका छन् । अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ र त्यसमा आफ्नो सार्वभौमिकता दाबी गर्ने गरेको छ ।


यसअघि २०२० जुन महिनामा पनि दुवै देशका सैनिकहरुबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसअघि भुटान र चीनबीच सीमा विवाद रहेको दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच आमने(सामने भएका थिए ।


भारत र चीनबीच लामो समयदेखि सीमा विवाद हुँदै आएको छ । सन् १९६२ मा सीमा विवादका कारण दुई देशबीच युद्ध नै भएको थियो ।