ऊर्जा सङ्कटका कारण बङ्गलादेशभरका विश्वविद्यालयहरू बन्द

न्युजलय २६ फाल्गुण २०८२, मङ्गलबार ०१:०३ मा प्रकाशित

काठमाडौँ । बङ्गलादेश सरकारले पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी ऊर्जा सङ्कटलाई सम्बोधन गर्न देशभरका सबै सरकारी तथा निजी विश्वविद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

बिजुली र इन्धन बचत गर्ने उद्देश्यले यस्तो आपत्कालीन निर्णय लिइएको हो, जुन सोमबार, ९ मार्च २०२६ देखि लागु भएको छ ।

बङ्गलादेशको शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विश्वविद्यालयहरूलाई उनीहरूको शैक्षिक क्यालेन्डरमा तय गरिएको ईद–उल–फितरको बिदा अगाडि नै सुरु गर्न भनिएको छ ।

विश्वविद्यालयका आवासीय हल, कक्षा कोठा र प्रयोगशालाहरू सञ्चालन गर्न ठुलो मात्रामा बिजुली आवश्यक पर्ने भएकाले यो कदम चालिएको हो ।

विश्वविद्यालय अनुदान आयोगलाई कार्यान्वयनको जिम्मा दिइएको यो निर्णयसँगै सरकारले ११ बुँदे ऊर्जा संरक्षण निर्देशिका पनि जारी गरेको छ ।

जसमा दिउँसोको समयमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग गर्ने, वातानुकूलित (एसी) प्रणालीको तापक्रम २५ डिग्री सेल्सियस वा सोभन्दा माथि राख्ने र अनावश्यक बत्ती तथा सवारी साधनको प्रयोगमा रोक लगाउने उल्लेख छ ।

बङ्गलादेश आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत आयातमा निर्भर छ ।