कामाण्डौ । हङकङका आवासीय भवनको भाउ गत अक्टोबर महिनामा उल्लेख्यरुपमा घट्दै पाँच वर्षयताकै कम विन्दुमा आइपुगेको छ।
पछिल्लो समय विश्वव्यापी र स्थानीय वित्तीय अवस्था कमजोर बनेसँगै हङकङमा आवासीय भवनको भाउ पनि कमजोर बनेको हो। सोमबार सार्वजनिक गरिएको घरजग्गाको भाउको सूचकअनुसार उक्त सूचक मासिक २.४ प्रतिशतले घटेको छ।
यस वर्षको सुरुयता हङकङको घरजग्गाको भाउको सूचक १०.५ प्रतिशतले घटिसकेको छ। मासिक हिसाबमा हेर्ने हो भने हङकङको घरजग्गाको भाउमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट देखिएको हो।
अबको दुईदेखि तीन महिनासम्म हङकङमा घरजग्गाको भाउ अझै घट्न सक्ने जानकारहरुको भनाइ छ। साथै सन् २०२२ को समग्र वर्षमा हङकङमा घरजग्गाको भाउ १५ प्रतिशतसम्म घट्न सक्ने जानकारहरुले बताएका छन्।