कोशीको बजेट कम्तिमा १२ प्रतिशत कम

न्युजलय ३ फाल्गुण २०८०, बिहिबार ०८:४५ मा प्रकाशित

विराटनगर । आम्दानी कम भएपछि कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट कम्तिमा १२ प्रतिशतले घट्ने भएको छ । संघीय अनुदान कटौती हुने सम्भावनासमेत रहेकोले त्योभन्दा अझै कम बजेटको अनुमान गरिएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।


केन्द्र सरकारले १७ प्रतिशतले संघ सरकारको बजेटको संशोधित अनुमान गरेकोले प्रदेश सरकारको बजेट १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । तर संघको पत्र नआइसकेकोले अहिले केही भन्न नसक्ने मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले बजेटको अर्धवार्षिक समीक्षा गरिसकेको र केही दिनमै सार्वजनिक हुने मन्त्रालयले जनाएको छ । 


प्रदेशले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट बनाएको थियो । जसअनुसार कोशी प्रदेशको चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।


हालसम्म चालूतर्फ ३४.७३ प्रतिशत र पूँजीगततर्फ १७.२७ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारको अहिलेसम्मको जम्मा आम्दानी ४५ प्रतिशत मात्र छ ।