ओेली जिताउ अभियानको अस्सी डिग्रीको फन्को !

न्युजलय १५ फाल्गुण २०८२, शुक्रबार ०५:४२ मा प्रकाशित

यस लेखकले झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभाको सदस्यमा उम्मेद्वारी दिने उद्देश्य राखेको थियो । ओलीसितै निर्वाचनको मैदानबाट खरो सबाल जवाफ गर्ने उद्देश्य रहेको थियो । तर एकाएक पार्टी अध्यक्ष ओलीलाई व्यक्तिगत रुपमा अन्तर्मनले निश्वार्थ रुपमा जिताउने अभियानमा यो लेखकले सत्तरी फन्को मा¥यो । माक्र्सवादी भाष्यमा मानिसको विचार, चिन्तन र धारणा वस्तुजगत्को प्रतिबिम्ब वा प्रतिछाया हो । जब काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह/साह उर्फ बालेन जनताले विश्वासबाट प्राप्त जिम्मेवारी पूरा नगरी बीचमै परित्याग गरे र प्रतिनिधि सभामा उम्मेद्वार मात्र भएनन्, झापा क्षेत्र नं. ५ मा ओलीसित भिड्न आए ।


यससित जोडिएर आएका अनेकन देशी र विदेशी देश र जनता विरोधी गुप्तगु षडयन्त्र क्रमशः उजागर हुन थाले । यसले मेरा विचारमा ठूलो परिवर्तन ल्यायो । देशलाई नै रसातलमा पु¥याउने खालका परिघटना दृश्य पटलमा देखा परे । तब मेरो तन,मन र भावना पूरै खल्बलियो र यस संगीन विषयले मेरो धारणाले ८० डिग्रीको फेरो मा¥यो । ओली हराउबाट ओली जिताउ अभियानको यो लेखक रक्षा कवच बन्न पुग्यो । देशका जरोकिलो सरहका प्रमुख संस्था र पार्टी र नेतृत्वका असन्तुष्टिमा पेट्रोल खन्याएर नेपाललाई बफर राष्ट्र बनाउने उहिल्यै देखिका कुनियत थाहा भएकै हो । यसको सिकार सिक्कम देश भएको जगजाहेर छ । यसैले ओली जिताउ अभियानमा दमकमै केही दिन डेरा जमाएर बसियो । 


 दमकमा एक हप्ता बसेर अनेक सज्जन समूहसित अन्तर्किया गरियो । चुनावी कव्य कोण सभा समेत सम्पन्न गरियो । यसमा प्रसिद्ध पत्रकार भूषण दाहालले भनर्झैँ इतिहासलाई उपहास नगरौँ भन्ने कुराको गूढ अर्थ सहित बौद्धिक प्राज्ञिक तथा स्रष्टा समाजसित गम्भीर विमर्श गरियो । यस बारेका मेरा गतिविधि सुनेर एक धराने पोथ्रो एमाले नेताले मेरै छोरा वरिष्ठ इन्जिनियर प्रशान्त पोखरेलसित बल्ल सरको बुद्धि आएछ भनेर आफ्नो अल्प बुद्धि जताएछन् । 


दमकका अन्तक्र्रियामा देश र जनताका हितका लागि काम गरेको र ऐतिहासिक गहन भूमिका निर्वाह र गौरवशाली विरासद् वहन गरेको एमाले, नेका लगायत पार्टीप्रति बैगुनी नबनौं भन्ने कुरा जनसमक्ष राखेको थियो । चन्द्रमामा कालो दाग हुन्छ तर त्यसैका भरमा चन्द्रमालाई कालो भन्न हुन्न भनियो । एमाले रुष्ट जनहरुलाई दुराग्रही नबन्न आग्रह र अनुरोध गरिएको थियो । तिनसित माक्र्सवादी र जबजका आधार आलोकमा गम्भीर विमर्श गरिएको थियो । सापेक्ष, तुलना, समग्र र अंश जस्ता मूल्याङ्कनका सही मापदण्ड आधारित अन्तक्र्रिया गर्दा धेरैको मौन समर्थन रहेको अननुभव गरियो । 


रातारात यसरी ओली जिताउ अभियानमा सरिक हुँदा मप्रति उदेक मान्ने धेरै देखिए । अकस्मात् जस्तो ममा आएको बदलावलाई धेरैले अस्वाभाविक र अनुचित रहेको मैसित पनि कुरा गरेका थिए । तर जबज र जननेता मदन भण्डारीका अन्तर्य केलाउँदा उपयुक्त प्रश्नहरुको उत्तर आउँछ । 


सीपी मैनाली लगायत आफूविरुद्ध जेहाद छाडेर लागिपर्ने एकाध नेतालाई मदनले काँधमा नै बोकेका थिए । पाँचौ महाधिवेशनको नेतृत्व निर्माणमा मदनले मैनालीलाई शान, मान र सम्मान दिए । विश्वमा कहीँ पनि भिन्न मतलाई ससम्मान पार्टीको उपल्लो नेतृत्व तहमा समेट्ने परिपार्टी कम्युनिस्ट पार्टीमा थिएन तर मदन भण्डारीले जबज अनुसार भिन्न वा अल्पमतलाई समेटे । पार्टी काममा लाग्दा मदन र सीपीलाई आम कार्यकर्ताले दुवैलाई तुलना गर्न पाए । यसरी तुलना गर्दा मदनका विचार र व्यवहारलाई उत्कृष्ट ठहर गरे भने मैनालीका बेहोरालाई नेता र कार्यकर्ता मन पराएनन् । यसले गर्दा सीपी मैनालीका प्रभावका अधिकांश नेता र कार्यकर्ताले सीपीको साथ छाडे । नत्र सीपी पार्टी फुटाउने कुनियतमा थिए । उनले एक समय मलाई मात्र होइन अरु धेरैलाई कार्वाही गर्नुपर्छ भनेका थिए । सीपीको उद्देश्य कार्वाहीमा परेकाहरुलाई लिएर पार्टी फुटाउने दाउ थियो । 

मानौँ विगत ११ औँ महाधिवेशनमा विद्या भण्डारी तथा इश्वर पोखरेल समूहलाई झैँ मदनलाई चरम अपमान, उपेक्षा र तिरस्कार गरिएको भए पनि भण्डारीले ओलीप्रति पूर्ण रुपमा सदासय नै राख्थे । निर्वाचनमा नबोलाए पनि भण्डारी झापा क्षेत्र नं. ५ मा जान्थे र ओली जिताउन भरमग्दुर प्रयत्न गर्थे । मदन मन र मुटु मिचेर दुनियाँले देख्नेगरी ओली जिताउन लागिपर्थे । यसबाट मदनप्रतिको आकर्षण अरु अग्लिन्थ्यो । ओलीप्रति विकर्षण भाव फैलिन मद्दत पुथ्यो । मदन निकृष्टतालाई शालीनताले जित्ने सोचका थिए ।


एमाले विचार समूहका एक वरिष्ठ नेता ईश्वर पोखरेलले ओलीको विजयको अत्यन्त सकारात्मक सन्देश र शुभकामना प्रवाह गरेका छन् । अझ यसलाई आम कार्यकर्ताले देखिने, सुनिने र मनन गरिने गरी ओली जिताउ अभियानलाई अझ मुुखर गर्नुपर्छ । यसो गर्दा जब जागे तब सबेरा भनेझैँ भ्रमित नेता कार्यकर्ता जबज र मदनका प्रतिबद्ध र प्रबल पक्षधर हुनेछन् । ओलीले जबज, जननेता मदन र विद्या भण्डारी प्रति जे जस्ता टिप्पणी गरे त्यसका कारण अधिकांश एमाले नेता र कार्यकर्ता अत्यन्त रुष्ट भए । यस विषयलाई प्रत्यक्ष वा परोक्ष रुपमा अहिले चुनावका बेला एमाले नेता र कार्यकर्ता ओलीसित अत्यन्त रुष्ट र आक्रामक भएको थाहा भयो । 


पार्टी अध्यक्ष ओलीले ११ औँ महाधिवेशन अघि र पछि गरेका नेतृत्वदायी भूमिका जबज विरुद्ध नै थिए । किस्ता किस्तामा पार्टीको सार तत्वलाई दरकिनार पार्ने कुरा चानचुने र सामान्य विषय होइन, सैद्धान्तिक र वैचारिक गहन विषय हो । जबज र जननेता मदन भण्डारीको राप,ताप र प्रतापलाई निमिट्यान्न पार्ने दुष्प्रयास हो । कम्प्रिहेन्सिभ डेमोक्रेसीका प्रणेता र विचारक बन्ने उनको दिवा सपना हो । बाँस वरपरका झिक्रझिक्री काट्तै अनुकूल अवस्था सिर्जना गरेर जबजका रहरलाग्दा बाँसका घनाहरु काट्ने कुनियत हो । देशै भरि भूमिगत भएको एमाले विचार समूह मुखर हुन थालेको देखिन्छ । देश र जनता बैरी सित रिस फेर्ने बेला हो । ओली वा गगनसित रिसाउने र मुर्मुरिने बेला होइन । 


 जेनजीलाई मर्न र मार्न उक्साउने, सिंहदरवार र सर्वोच्च अदालत जल्दा महानगरले दमकल नदिने, जलेको रमित हेरेर बस्ने, महानगर प्रमुख हुँदा गरेका वाचा र कवोल एउटै पूरा नगर्ने,झापामा चुनाव हारेँ भने झापाको नक्सा नै गायव पारिदिन्छु भन्नेले निर्वाेचनमा जित्नु देशलाई ठूलो भड्कालोमा हाल्नु हो । त्यसैले ओलीलाई भोलिका दिनमा पार्टी भित्रैबाट उनले थेग्नै नसक्ने गरी दवाव दिने सर्तमा झापाका एमाले मतदाता ओली जिताउने तयारीमा छन् । अहिले पहिले भन्दा सूर्यप्रतिको लहर बढ्दै गएको देखिन्छ । 


पाँचौँ महाधिवेशनमा सीपीलाई आफू सँगै उच्च स्तरको नेता बनाए पछि दुईका बीच अवश्य आम कार्यकर्ताले त्ुलना गर्छन्, र दुईको व्यवहारबाट योग्यताको आफै परख गर्नेछन् भन्ने सोच मदनमा रहेको हुन्ुपर्छ । मैनालीलाई ससम्मान पार्टीमा स्थापित गरेपछि पार्टी एकताको सन्देश देश तथा विदेशमा पनि फैलियो । उनी समय क्रममा र व्यवहारका कारण सच्चिए वा सुध्रिए जाती नै हुन्छ भन्ने मदनको दुब्लो सोच रहेको हुनुपर्छ । तर सीपी पार्र्टी भित्र विग्रह गर्न उद्यत देखि पछि उनीसित उनका आफ्नै निकटस्थ नेता र कार्यकर्ता टाढिन थाले । यस्तो अवसर पनि एमाले विचार समूहका नेताले उपयोग गर्नुपर्छ । 


मदन र सीपीलाई सँगसँगै पार्टी काममा सक्रिय भएका कारण दुवैैका व्यवहारबाट आम कार्यकर्ताले दुईमा तुलना गर्न पाए । यसरी तुलना गरेर हेर्दा आम कार्यकर्ताले मदन नै पार्टीमा सही,अब्बल र सच्चा क्रान्तिकारी नेता हुन् भन्ने ठहर गरे । यही सन्देश सर्वत्र प्रवाहित गर्नु मदनको उद्देश्य थियो र यसमा सफलता प्राप्त भयो । पार्टी विभाजित हुन,चोइटिनबाट जोगियो । सीपीले त मलाई मात्र होइन अरुहरुलाई पनि कार्वाही गरेर देखाउन चुनौति नै दिएका थिए । धेरैलाई कार्वाही गरेदेखि तिनलाई संगठित गरेर नयाँ पार्टी खोल्ने दाउ मैनालीको थियो । 


 सीपी सच्चिएलान् भन्दा पनि सीपीका कारण आम कार्यकर्ता नभड्किऊन्, सीपीका भ्रमबाट मुक्त हऊन् र सीपीका कारण पार्टीमा कुनै पनि खाले विखराव नआयोस् भन्ने चिन्ता मदनमा रहेको बुझिन्छ । 


पर्टीका आम गतिविधि र भूमिकाका कारण कुनै पनि नेतालाई परख गर्न सकिन्छ अझ व्यवहारबाट र तुलना गरेर हेर्दा गुनी को बैगानी नेता पत्ता लाग्छ । यस्तो अवसर दिनुपर्छ । त्यसैले एमाले विचार समूहका तमाम नेता र कार्यकर्ताले देखिने गरी ओली जिताउ अभियानमा सक्रिय हुनुपर्छ । आखिर गुणी जनकै वरिपरि जनमत गोलबद्ध हुन्छ । 


अहिले लुसिफर किमार्थ जित्नु हुन्न र ओली किमार्थ हार्नु हुन्न तर कुरा के आउँछ भने उनी सप्रिएलान,सच्चिएलान् र ? यो आश गर्नु नै बेकार छ भन्ने पनि प्रश्न उठ्छ र उठेको पनि छ । यो स्वभाविक कुरा पनि होला । तर अत्यधिक नेता र कार्यकर्ता एक ढिक्का भएर ओलीमाथि गगन थापालेझैँ थाम्नै नसक्ने दवाव दिन सकियो भने निकास ननिस्कने कुनै कारण छैन ।