इटहरीको बजेट २ अर्ब ३५ करोड : आन्तरिक स्रोतमा महत्वकांक्षी, चालु आवमा ४६ करोड घाटा

हिमाल दाहाल १० असार २०८०, आइतबार ०४:४६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि २ अर्ब ३५ करोडको बजेट ल्याएको छ । 

उपप्रमुख संगीताकुमारी चौधरीले १३ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि संघिय समानिकरण अनुदानबाट ३० करोड १७ लाख, संघिय ससर्त अनुदानबाट ७२ करोड ५७ लाख, संघिय समपुरक अनुदानबाट २ करोड, संघिय विशेष अनुदानबाट ३ करोड ७५ लाख पाउने अनुमान गरीएको छ । 

यसैगरी प्रदेश समानिकरण अनुदानबाट २ करोड ७ हजार, प्रदेश ससर्त अनुदानबाट १ करोड २३ लाख २५ हजार, प्रदेश समपुरक अनुदानबाट १ करोड, संघिय राजश्व बाँडफाँडबाट १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड(सवारी)बाट २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड रुपैया पाउने अनुमानित आम्दानी विवरण पेश गरेको छ । यस्तै नगद मौज्दात परिवर्तनबाट १ करोड र नगर विकास कोषबाट ३ करोड ऋण प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरी आन्तरिक श्रोतबाट ६८ करोड १४ लाख रुपैया उठाउने महत्वकांक्षी योजनासमेत बनाएको छ । यो चालु आर्थिक वर्षको असारसम्मको संशोधित अनुमानित आयको दोब्बर बढी हो । चालु आर्थिक वर्षको असारसम्ममा नगरले आन्तरिक स्रोतबाट २९ करोड ६३ लाख रुपैया मात्र आम्दानी गर्न सकेको छ ।

यस्तै उपमहानगरपालिकाले चालु खर्च तर्फ १ अर्ब १५ करोड ७८ लाख रुपैया विनियोजन गरेको छ । नगर विकास कोषको सावाँ व्याज भुक्तानी गर्नको लागि ५० लाख र  पूँजिगत खर्चको लागि १ अर्ब १८ करोड ७२ लाख रुपैया छुट्याएको छ । पुँजीगत खर्च कुल बजेटको ५०.५२ प्रतिशत हो ।

विषयगततर्फ २५ करोड, नगर स्तरीय योजनाका लागि १७ करोड ४५ लाख ६ हजार, ससर्त अनुदानतर्फ ८० करोड ५५ लाख २५ हजार विनियोजन गरेको छ ।

यस्तै वडा सिमातर्फ १० वटा वडालाई प्रति वडा १ करोड ५५ लाखका दरले र बाँकी १० वटा वडालाई १ करोड ७५ लाखका दरले गरी जम्मा ३३ करोड छुट्याएको छ । उपमहानगरको १ करोड ५५ लाख रुपैयाका दरले पाउने वडाहरु १,३,७,१०,११,१३,१४,१५,१८ र १९ रहेका छन् भने वडा नं. २,४,५,६,८,९,१२,१६,१७ र २० ले १ करोड ७५ लाखका दरले रकम पाउनेछन् ।


चालु आर्थिक वर्ष घाटामा

चालु आर्थिक वर्षमा भने इटहरी उपमहानगरपालिका घाटामा गएको छ । आम्दानीभन्दा खर्च बढी भएपछि उपमहानगरलाई ४५ करोड ८४ लाख ४१ हजार रुपैया घाटा भएको हो । उक्त रकम दायित्वका रुपमा आगामी आर्थिक वर्षलाई सारिएको छ । 

चालु आर्थिक वर्षको लागि २ अर्ब १८ करोड ६ लाख बजेट अनुमान गरिएकोमा संघिय र प्रदेश सरकारवाट कर्मचारीको तलब भत्ता विभिन्न कार्यक्रम बजेट थप भएकाले खर्च २ अर्ब २५ करोड ३२ लाख भएको बताइएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको असार सम्ममा १ अर्ब ७९ करोड ४८ लाख रुपैया मात्र आम्दानी गर्न सकेको छ ।

बजेट कार्यन्वयनमा वित्तिय अभावलाई प्रमुख समस्याको रुपमा देखाइएको छ । वहु वर्षिय आयोजनाहरुका साथै पुराना योजनाहरुको भुक्तानी गर्र्नुपरेको र आन्तरिक आय सोचेजस्तो नभएकोले घाटा भएको बजेटमा उल्लेख छ । 


पुँजीगत खर्च ५१.४६ प्रतिशत

समस्याहरुका बाबजुद पुँजिगत तर्फ ५१.४६ प्रतिशत र चालु तर्फ ७६ करोड ५७ लाख रुपैया खर्च गर्न सफल भएको बताइएको छ । दुवै गरेर कुल बजेटको  ६०.४८ प्रतिशत खर्च भएको उल्लेख छ ।

आगामी आर्थिक वर्षमा चालु खर्चमा व्यापक कटौती गरिएको र आर्थिक कार्यविधी निर्माण तथा परिचालन गरी वित्तिय अनुशासनलाई कडाइका साथै कार्यन्वयन गरिने बताइएको छ ।