इन्डोनेसियामा भूकम्पः कम्तिमा १४ जनाको मृत्यु, सयौँ घाइते

न्युजलय ५ मङ्सिर २०७९, सोमबार ०४:१८ मा प्रकाशित

काठमाण्डौ । इन्डोनेसियाको जावाको मुख्य टापुमा आएको भूकम्पमा कम्तिमा १४ जनाको ज्यान गएको तथा अन्य सयौँ घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी भौगर्भिक सर्भेक्षणका अनुसार पश्चिमी जावाको सियान्जुर सहरमा आएको ५ दशमलव ६ म्याग्निच्युडको यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा रहेको छ । भुकम्पको धक्काको महसुस करिब १०० किलोमिटर टाढाको राजधानी जकार्तासम्म भएको थियो । 

जकार्ताका अग्ला भवनका मानिसहरु पनि डरले आत्तिएर बाहिर निस्केका बीबीसीले लेखेको छ । अधिकारीहरुले मृतकको सङ्ख्या बढ्न र थप पराकम्पनहरु आउन सक्ने बताएका छन् । 

न्युज च्यानल मेट्रो टेलिभिजनका अनुसार सियान्जुरको एउटा अस्पतालमा कम्तिमा ३०० जनाको उपचार भइरहेको छ । 

अधिकांश घाइतेको भग्नावशेषमा च्यापिएर शरीरका विभिन्न हड्डी भाँचिएका छन् । उद्धारकर्मीहरुले भग्नावशेषमा पुरिएका मानिसहरुलाई निकाल्ने प्रयास जारी राखेका छन् ।