भारतीय सीमा नजिक रहेको मीरगन्ज पुल पुनः सञ्चालन

न्युजलय २१ मङ्सिर २०७९, बुधबार ०१:४५ मा प्रकाशित

 विराटनगर । जोगवनी हुँदै विराटनगरसँग जोडिएको नाकामा रहेको पुल एक वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको छ । भारतको बिहारमा रहेको मिरगन्ज पुल हिजो मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । 

पुल सञ्चालनमा आएपछि मालवहाक सवारी साधनलाई नेपाल पुग्न सहज भएको छ । यसअघि करिब १२० किलोमिटर लामो बाटो तय गर्दै सुनसरीको भाण्टाबारीबाट नेपाल आउनुपर्ने बाध्यता थियो । 

तेस्रो देशबाट भारतका कोलकत्ता, विशाखापट्नम, मुम्बई, अमहदावाद जस्ता बन्दरगाह आइपुग्ने औद्योगिक कच्चा पदार्थदेखि खाद्यान्नसम्मका वस्तुहरु भारत बिहारको जोगबनी हुँदै विराटनगर भित्रने गर्थे । 

नेपाली र भारतीय पक्षका सरोकारवालाबीचको सहमतिमा भारतीय पक्ष पुल खुलाउन सहमत भएको हो । अङ्ग्रेजकै पालामा बनेको झण्डै सय वर्ष पुरानो फलामे पुल भासिने समस्या रहेको छ ।