उत्तर कोरियामा कोरोना भेटिएपछि देशभरि लकडाउन घोषणा

न्युजलय २९ बैशाख २०७९, बिहिबार ०८:१२ मा प्रकाशित

एजेन्सी । उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ। बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।

कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन। 

उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन्।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो। 

कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएको छैन।