सुरक्षित तवरले चलाउने गरी सुबिसुले ल्यायो अत्याधुनिक वाइफाइ सेवा

न्युजलय २० बैशाख २०८३, आइतबार ०५:२१ मा प्रकाशित

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडले नयाँ पुस्ताको अत्याधुनिक ताररहित इन्टरनेट प्रविधि वाइफाइ ६ मा आधारित सेवा सार्वजनिक गरेको छ। यससँगै कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाका रूपमा समावेश गर्दै “सुबिसु सुरक्षा” अवधारणा पनि प्रस्तुत गरेको छ।


नेपालमा नयाँ पुस्ताको ताररहित प्रविधि उपलब्ध भए पनि, सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट सेवा प्रदान गर्ने सुबिसु पहिलो कम्पनी बनेको छ। यस प्रविधिले उच्च गतिको इन्टरनेट अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट कभरेज सुनिश्चित गर्छ र एकै समयमा धेरै उपकरणहरू सहज रूपमा जडान गर्न सक्षम बनाउँछ। साथै, उपकरणहरूको ब्याट्री खपत घटाउन सहयोग गर्दछ।


यो सेवाले इन्टरनेट प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट सुरक्षित राख्ने व्यवस्था गरेको छ। यसले व्यक्तिगत गोपनीयता र तथ्याङ्क सुरक्षालाई सुनिश्चित गर्दै घरायसी तथा व्यावसायिक प्रयोजनका लागि सुरक्षित इन्टरनेट प्रयोगको वातावरण निर्माण गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।


सुबिसु लिमिटेडका उपाध्यक्ष राम कृष्ण परियारले नयाँ प्रविधिबाट तीव्र गतिको इन्टरनेट मात्र नभई सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको जानकारी गराए । 


कम्पनीले उक्त सेवा तीन फरक प्याकेजमा उपलब्ध गराएको जानकारी दिएको छ । जसमा साधारण ताररहित सेवा, उन्नत ताररहित सेवा र उत्कृष्ट ताररहित सेवा रहेका छन् । सुबिसुले नयाँ प्रविधिसहितको यो सेवा नेपालमा इन्टरनेट सुरक्षालाई प्राथमिकता दिने दिशामा महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेको छ।