अष्ट्रेलियाले झण्डै दुई वर्षपछि खोल्यो अन्तर्राष्ट्रिय सीमा

न्युजलय ९ फाल्गुण २०७८, सोमबार १२:४३ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खुला गरेको छ । योसँगै पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् ।

अष्ट्रेलियाले कोरोनाका कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । 

सीमा खुला भएसँगै अष्ट्रेलियाको एक राज्यबाहेक सबै राज्यमा अबदेखि अन्तर्राष्ट्रिय यात्रु प्रवेश गर्न पाउने छन् । पश्चिमी अष्ट्रेलियामा भने ३ मार्चपछि मात्रै प्रवेश गर्न पाउने र प्रवेश गर्नेले कोभिड खोपको तेस्रो मात्रा लगाएको हुनुपर्ने छ ।

पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुले क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले प्रस्ट पारेको छ ।