मेक्सिकोमा अगाथा आँधीले ११ जनाको मृत्यु, ३० जना बढी बेपत्ता

न्युजलय १८ जेठ २०७९, बुधबार ०९:१४ मा प्रकाशित

काठमाडौं । मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्तीहरू डुवानमा पर्दा ११ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरू गरेका छन्। आँधीका कारण कम्तीमा ३३ जना हराइरहेका बताइएको छ।


अमेरिकी ‘नेशनल हरिकेन सेन्टर (एनएचसी)’ का अनुसार यस आँधी स्थानीय समय अनुसार सोमबार मेक्सिकोको प्रशान्त किनाराबाट सुरू भएको थियो। यो सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ।


हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा अन्य भौतिक क्षति भएको मौसमविद्हरूले बताएका छन्।


ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले बुधबार आँधीबाट आएको अवस्थाबाट नागरिकलाई नआत्तिन र प्राकृतिक विपत्तिबाट हुनसक्ने थप जोखिमबारे चनाखो रहन आग्रह गरेका छन्।

 

ओक्साका नागरिक सुरक्षा कार्यालयका अनुसार सान्ता क्याटरिना जानागुया समुदायमा डाँडामा पहिरो जाँदा १८ र २१ वर्षका दुई जनाको मृत्यु भएको छ। लानो डेल चिल्लरमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने उनको छोरा घाइते भएका बताइएको छ।


अगाथा ओक्साकाको पोर्टो एन्जलनजिकै प्रति घण्टा १६५ किलोमिटर (१०५ माइल) वेगमा अवतरण गरेको थियो।


साधारणतया मे र नोभेम्बर महिनाको बीचमा प्रशान्त महासागर र आन्द्र महासागर दुवै तटमा उष्ण कटिबन्धीय आँधीले मेक्सिकोलाई नियमित प्रभावित गर्ने गर्छ।