काबुलमा महिलालाई बुर्का लगाउन दबाब

न्युजलय २५ पुस २०७८, आइतबार ०८:४२ मा प्रकाशित

काबुल । तालिबानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिबानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ ।


१५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन् । ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ । सत्तापलटपछि तालिवानले पुर्नःस्थापना गरेको गुण तथा दुर्गुणसम्बन्धी मन्त्रालयका प्रवक्ता सइद अकिफ मुहजिरले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन प्रोत्साहन गर्न सार्वजनिक स्थलमा पोस्टर टाँसिएको बताए ।


शरीर ढाक्ने गरी वस्त्र नलगाउनेलाई कारबाही भने नगरिने उनको भनाइ छ । 


काबुलमा प्रायः महिलाले टाउको ढाक्ने वस्त्र लगाउँछन्, यद्यपि केहीले भने पश्चिमा शैलीका अत्याधुनिक पोसाकमा सजिएका भेटिन्छन् । राजधानीबाहिरका सहरमा भने महिलाको टाउकोमा बुर्का देखिनु सामान्यजस्तै बनेको छ ।


पोस्टरमार्फत महिलालाई तालिवानले बुर्का लगाउन दबाब दिएको र यसले अनावश्यक त्रास बढाएको केहीले गुनासो गरेका छन् ।