ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बाँदरलाई अमानवीय व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बाँदरलाई तड्पाउँदै कुकुर लगाएर आक्रमण गरी हत्या गरेर भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि विभिन्न निकाय तथा संघ–संस्थाले चासो देखाएका थिए।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु, ताप्लेजुङ बस्दै आएका २१ वर्षीय छुप्पु हेम्बयालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घटना प्रतिनिधिसभाको निर्वाचनभन्दा अगाडि खेतबारीको बाली जोगाउन बनाइएको पासोमा परेका बाँदरमाथि आक्रमण गराइएको थियो। त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।