इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

न्युजलय २१ चैत २०८२, शनिवार ०६:१९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरी प्रहरीले जानकारी दिएको छ । 

प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किँदा भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ ।  राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।