कजाकस्तानमा प्रदर्शन चर्किदा दर्जनौंको मृत्यु

न्युजलय २३ पुस २०७८, शुक्रबार ०८:२७ मा प्रकाशित

अल्माटी । कजाकस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सुरक्षाकर्मीको गोलीले दर्जनौं प्रदर्शनकारी मारिएका छन् । सुरक्षाफौजले प्रशासनिक भवनहरूमा आक्रमण गर्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा गरिएको कारबाहीमा दर्जनौं मारिएका पुष्टि गरेको छ । 

 

सुरक्षाकर्मीले सहरमा शान्ति फर्काउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाउन बाध्य भएको जनाएको छ । ‘चरमपन्थी विद्रोहीहरूले प्रशासनिक भवनहरू, अल्माटी सहरको प्रहरी विभागका साथै स्थानीय प्रहरी चौकीमा आक्रमण थालेपछि गरिएको कारबाहीमा दर्जनौं आक्रमणकारी मारिएका छन्,’ प्रहरी प्रवक्ता सल्टनट अजिरबेकले भने । अजिरबेकले प्रदर्शनकारीको आक्रमणमा कम्तीमा १२ जना सुरक्षाकर्मी मारिएका र ३ सय ५३ जना घाइते भएका बताए । कम्तीमा एक हजार प्रदर्शनकारी घाइते भएका छन् ।

 

सरकारले एलपीजी ग्यासको मूल्य दोब्बर गरेपछि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको हो । देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएका कारण कजाखस्तानमा वास्तवमा के भइरहेको छ भन्ने प्रस्ट थाहा हुन नसकेको निगरानी समूहहरूले जनाएका छन् । रुसले कजाखस्तानका राष्ट्रपतिको आग्रहपछि सुरक्षाफौज पठाएको बताएको छ । बढ्दो अशान्ति नियन्त्रणका लागि मद्दत पुर्‍याउन अनुरोध गरेपछि सेना पठाएको मस्को नेतृत्वको सैन्य गठबन्धनले जनाएको छ ।


रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकले ‘स्थितिलाई स्थिर र सामान्य बनाउन निश्चित समयका लागि कजाखस्तान गणतन्त्रमा सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) को शान्ति सेना पठाइएको’ जनाएका छन् । सीएसटीओमा रुससँगै बेलारुस, आर्मेनिया, ताजिकिस्तान र किर्गिजस्तान सदस्य छन् । यद्यपि, रुसी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कति समयका लागि सेना पठाइएको हो भन्नेबारे उल्लेख छैन । 


भ्रष्टाचार, गरिबी र बेरोजगारीको समस्या बढेको भन्दै जारी प्रदर्शन सरकारले ग्यासमा मूल्य बढाएपछि आइतबारदेखि चर्केको हो । प्रदर्शनकारीले बुधबार अल्माटीको मुख्य प्रशासनिक भवनका साथै सरकारी कार्यालयहरूमा पसेर आगो लगाइदिएका थिए ।